फुर्केखोलाबाट ९ केजी गााँजासहित पोखराका दुई युवा पक्राउ

597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ – धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन्। उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट करिब २५ किलोग्राम गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेका थिए। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा छोडेर फरार भएका थिए। हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।