बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने

421 पटक पढिएको

सम्पादक: Dhading News

हेटौंडा २४ माघ । जिल्ला तहमा प्रदेश सरकारको प्रतिनिधित्व गर्ने कार्यालय नहुंदा जिल्ला जिल्लाबाट हरेक कामका लागि  प्रदेश राजधानी पुग्नु पर्ने वाध्यता झेल्दै आईरहेका सेवाग्राहीको हितलाई ध्यानमा राखी वागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने भएको छ ।  जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना भएपछि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्र्तगत प्रवाह हुने सेवाका लागि सेवाग्राही प्रदेश राजधानी हेटौंडा पुग्नु पर्ने वाध्यता हट्नेछ ।

बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय मार्फत प्रदेश सरकारको सेवा प्रवाह गर्न आवश्यक तयारीका लागि वागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।
माघ २४ गते बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने उद्धेश्यले प्रदेशका सबै जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिनुभयो ।
प्रदेश सरकारका प्रशासनिक कार्यहरु हेटौंडा र केही सेवा काठमाडौंबाट प्रवाह हुंदै आएपनि सेवाग्राही मर्कामा परेको जनगुनासो बढ्दै गएपछि प्रदेश सरकारले जिल्लाहरुमा सञ्चालन गर्ने योजना कार्यान्वयन र सम्पन्न गर्न  एकिकृत सेवा संचालनको आवश्यकता महशुस गरिएको मुख्यमन्त्री जमकट्टेलको भनाई छ ।

कार्यदलका संयोजक निरौलाले विज्ञसहित आवश्यकता अनुसार कार्यदलको सदस्य नियुक्त गरेर अध्यनन गर्नेछन् । कार्यदलको प्रतिवेदनका आधारमा सेवा कार्यालय सञ्चालनको प्रकृया अघि बढ्ने छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले तामाङ र नेवार भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न यसअघिको प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनका लागि सामाजिक विकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा अध्ययन कार्यादल गठन गरेको छ ।

उक्त समितिको सदस्यमा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ रहेका छन् । कार्यदलमा प्रदेश सरकारका एक जना सचिव र एक जना विज्ञ रहने छन् ।