निभ्न लागेको आत्मा शरण रेग्मी
502 पटक पढिएको
म बेलुकाको खाना पश्चात् पलङ्मा लम्पसार हुन्छु । दिमागमा हरेक कुराहरु एकपछि अर्को गरी फिल्मको पर्दामा झैँ आइरहन्छन् । दुईवर्ष अघि डक्टरले भनेको कुराहरुले सबै अतितलाई जित्छ ।
मुखबाट रगतै छादेपछि अस्पतालको वेडमा भर्ना भएको दुइदिनपछि डक्टरले क्यान्सरको शंका गरेको थियो । त्यस दिनदेखि मेरो शरीरको तौल आधा कम भएसकेको छ । डक्टरको शब्दहरुले मलाई दुइघण्टा बेहोस पारेको थियो । अस्पतालको बेडमा नै !
डक्टरले sleeping tablet प्रयोग नगर्नु नै राम्रो भनेतापनि मैले प्रयोग गर्दा समेत मलाई निद्रा पर्न गाह्रो हुन्छ । कहिले त सोच्छु किन निन्द्रादेवी पनि मसँग रिसाएकी होली ? चिन्ताले चितामा पु¥याउँछ भन्ने कुरा मलाई थाहा छ । धेरै विद्धानका उद्गारहरु मेरो मानसपटलमा आइरहन्छ । कर्ण शाक्यको “सोच” पनि मैले तीन पटक पढिसकेको छु । जगदीश घिमिरेको “सकश” पनि तीनैपटक पढीसके । जीवनमा चिन्ता लिनु हुँदैन भन्ने कुरा थाहा छ तर पनि मेरो आत्मा मृत्युदेखि यति डराउँछ कि यी शब्दमा व्याख्या गर्न सक्दिन । ती मैले पढेका सिद्धान्तहरुलाई मेरो जीवनमा अनुशरण गर्न सक्दिन । म धेरै साहस गरेर यमराजलाई जित्ने प्रयास गर्छु तर पनि पापी यमराज मलाई १५ कोशपरबाट धकेल्दै, अचेट्दै, लछार्दै अगाडी बढिरहेको छ । म मृत्युलाई जित्ने अभिलासामा यी शब्दहरुसँग मितेरी लाउदै छु । घरी काल्टे फेर्छु, घरी उत्तानो पर्छु, घरी के ….गर्छु, जे गरेपनि मेरो वरीपरि मृत्यु नाचिरहेको छ । यमराज अचम्मका लुगा लगाएर मलाई डर देखाइरहेको छ । मेरो शरीर थर–थर कापिरहेको छ । शरीरभरी नानाथरीका जबरहरु छन् । शरीरका रौंहरु ठाडा भएका छन् । तर निर्दोष म ! मृत्युका अगाडी केही गर्न सक्दिन ।
म त विश्वमा आएको दुइदिनको पाहुना नै त हुँ । नाङ्गो आएँ र नाङ्गै जाँदैछु । जन्मदा मैले के नै ल्याएको थिएँ र अहिले आफ्नो भनुँ ! धन, दौलत, मान पहवी, श्रीमती, बालबच्चा अनि बा,आमा । एक्लो जन्मिए, एक्लै जाँदैछु । मेरो बाँकी रहेको समय आफन्त, इष्टमित्र, साथीभाइ, छिमेकी र परिवारमा समर्पण गर्ने विचार गर्दैछु ।
मृत्यु अकाट्य कुरा हो र मानिस मृत्युदेखि डराउनु हुँदैन । कस्ता कस्ता वीर पुरुषहरुले पनि मृत्युदेखि हार खानु प¥यो । डाइनोसर पृथ्वीबाट लोभ भएर जानुप¥यो । नेपालियन बोनापार्ट, लक्ष्मी प्रसाद देवकोटा लगायत अल्वर्ट आइन्सटाइन जस्ता महामानवहरुलाई पनि मृत्युले आफुनो कब्जामा पारिसक्यो भने म जस्तालाई त छोड्ने कुरै भएन । जन्मदा घरको एउटा कुनामा जन्मिएर दुइघण्टा सम्म अचेत अवस्थामा रहेको मेरो आत्मा झन्–झन डराइरहेको महशुस हुन्छ । मरेको वा ज्युँदो थाहा नभएपछि गाउँको एक जान्नी सुन्ने सुडेनीले धेरै पटक चिमोटेपछि मात्र म रोएको थिएँ रे ! अनि गाउँघरमा सबै भेला भएकाहरु हाँसिरहेका थिए तर म भने रोइरहेको थिएँ । म रुदा हास्नेहरुलाई म मर्दा रुवाएर जाने प्राण लिएको व्यक्ति म आज आफै अनायस नै रुदैछु । आजका दिनसम्म जानेर एकजना र एक जिवित प्राणीको आत्मालाई रुवाएको छैन र ज्यान लिएको पनि छैन । दुइवर्ष अघिका ती स्वर्णीम दिनहरुमा दुनियाको हित हुने कार्यहरु प्रशस्त गरें । यस अर्थमा म खुशी नै छु । हुन त विज्ञानले अहिलेसम्म स्वर्ग र नर्कको व्याख्या गर्न सकेको छैन । यसको अस्तित्वमा प्रश्न चिन्ह खडा गरेको छ ! तर म भने जिउदै धेरै पटक स्वर्ग पुगिसकेको व्यक्ति अन्तर्गत पर्छु । मेरो दिमागमा सधैभरी स्वर्ग र नर्ग, जन्म र मृत्य मात्र घुमिरहन्छ । अतःमेरा सपनाहरुमा म स्वर्गमा पुगेको हुन्छु ।
संसारको सबैभन्दा ठूलो चीज खुशी हो । जो व्यक्ति खुशी हुन्छ । त्यो व्यक्तिको आयु धेरै हुन्छ । उपचार नै नहुने रोगहरुबाट पनि उनीहरु मुक्त रहन सक्छन् । व्यक्तिलाई सुख, ऐश, आराम त चिहानमा राखेपछि मात्र खरानी हुन्छ । विश्वको प्रायः सबै देशका शिशियसहरु यसरी नै म जस्तै बेसाहारा भइरहेका छन् । डिप्रेसनका रोगीहरु भइरहेका छन् । हजारौँ मानिसहरुको भिडमा पनि महशुस गरिरहेका छन् । परिवारमा एक्लो महशुस गरिरहेका छन् । आशा छ त केबल अर्को जुनीको !
यस धर्तीबाट विदा लिनुअघि सम्पूर्ण मानिसलाई जहाँ रहनुहुन्छ, जहाँ हुनुहुन्छ सुखी र खुसी रहनु भन्न चाहन्छु । अलि केही वर्ष भएको भएँ म पृथ्वीमा कुनै नयाँ कार्य गर्ने थिए तर मसँग समय अति कम । थोरै छ । समय अति बलवान छ । समय र मृत्युले कहिल्यै पनि र कसैलाई पनि पर्खदैन र मलाई पनि पर्खेन । तर ठिकै छ जब मेरो सास वायुमण्डलमा मिल्दछ, तब म सम्पूर्ण मानव जगतलाई खुसी र सुखी रहन आवह्न गर्दै अघि बढ्नेछु ।
( सल्लाह ,सुझाव र प्रतिकृयाका लागि [email protected])