घरछेउमा अचानक जमिन भासिएर बन्यो डरलाग्दो भ्वाङ

184 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर–७, अमिलिछापका कृष्णप्रसाद खतिवडाको घरछेउमा जमिन भासिएर अचानक डरलाग्दो भ्वाङ परेको छ ।

सोमबार राति अबेरसम्म केही नभएको जमिनमा मंगलबार बिहानै गहिरो खाडलसहितको भ्वाङ देखिएपछि खतिवडा परिवार त्रसित बनेका छन् । यसअघि कहिल्यै नदेखिएको यस्तो समस्या कसरी उत्पन्न भयो भन्नेमा स्थानीयवासी अनुत्तरित बन्न पुगेका छन् । १९ फिट लामो बाँस भ्वाङमा छिराउँदा कतै नअड्किएको जग्गाधनी खतिवडाले जानकारी दिए ।

सिद्धलेक–७ का पूर्ववडा अध्यक्ष लक्ष्मण खतिवडाका अनुसार भ्वाङको आकार हाँडीजस्तो छ, भित्र अँध्यारो मात्र देखिन्छ । गाउँको बीचमा रातो माटो भएका ठूला–ठूला पाटा छन् । यस्तो भ्वाङ देखिएपछि घरधनी मात्र होइन, गाउँका सबै मानिसहरु अचम्मित र भयभीत भएको पूर्ववडा अध्यक्ष खतिवडाले बताए ।

जग्गाधनी कृष्णप्रसादले बताएअनुसार बिहान उठेर भैँसीलाई घाँसपानी गरेर फर्कन लाग्दा गोठनजिक कालो चीज देखेपछि नजिकै गएर हेर्दा जमिन भासिएर भ्वाङ परेको देखिएको हो । भ्वाङ परेको स्थाननजिकै उनको भैँसी गोठ, कुखुराको खोर र घर रहेको छ ।

बिहान गाउँभरिका मानिसहरु जम्मा भएर भ्वाङको निकास हेरेर खोज्दा कतै नभेटिएपछि गाउँवासी थप त्रसित हुन पुगेका छन् । खतिवडाको कुखुरा खोर र भैँसी गोठको बीचमा रहेको जमिन भासिएर भ्वाङ परेको हो । घरनजिकै अचानक जमिन भासिएर ठूलो भ्वाङ परेकाले घटनास्थलको अनुगमन गरिदिन कृष्णप्रसादले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई अनुरोध गरिएको बताएका छन् ।

जमिन भासिएर भ्वाङ परेको क्षेत्रलाई प्लास्टिकले बेरेर राखिएको जग्गाधनी खतिवडाले वताए ।