प्रचण्डले दिए विवादित अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरण

210 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि प्रतिपक्षी दलले मौका नदिएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसदमा आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको बताउनु भएको हो । प्रधानमन्त्री दाहालले प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति समेत जनाउनुभयो । गत हप्ता आफूले दिएको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोप्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? भनेर प्रश्न समेत गर्नु भयो । गत हप्ता प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । त्यसै बिषयलाई लिएर एमाले लगायत बिपक्षी दलले ३ दिनसम्म संसद बैठक अवरोध गरेका थिए । प्रमुख ३ दलका नेताबीच प्रधानमन्त्री दाहालले संसदमा स्पष्टीकरण दिने भनेर समहपच भएपछि आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले बोल्नुभएको हो ।