इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पराजित

415 पटक पढिएको

२९ असार २०८०, शुक्रबार १७:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं। एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। श्रीलंकामा भएको खेलमा पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानलाई जित दिलाउन तयब ताहिरले ५१ रन तथा ओमार युसफले ३६ रन बनाए।

नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए। यसअघि कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे। कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए। गुल्सन झाले १३ रन बनाए।

कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १-१ रनमा आउट भए। भिम सार्की शून्य रनमै पभेलियन फर्किए। पाकिस्तानका लागि शहनवाज दहानीले ४ तथा मोहम्मद वासिमले ४ विकेट लिए। मुवासिर खानले १ विकेट हात पारे।