आज साउने संक्रान्ति र सोमबारे औँसी पनि

182 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आज साउने संक्रान्ति। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ।
साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ। यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ।

गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्दछन ।

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। किरात समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ।
यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछ। साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ।
आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ।कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।

आजै सोमबारे औँसी
औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ। यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान छ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।