सिस्डोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न प्रतिबन्ध

234 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् ।

सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी रोकेका हुन् । यो ठाउँ धादिङ र नुवाकोट सीमाना पनि हो ।

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका-३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताए ।

धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।  – नेपाल प्रेसबाट