कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

129 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज मंगलबार बस्दै छ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी  बोलाइएको छ ।

विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।

बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको पार्टीका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिनुभयो ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उहाँले बताउनुभयो ।