अपडेट : बरामद एक क्विन्टल सुन आज राष्ट्र बैंकले जोख्दै, ६ जना पक्राउ

230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ । आज बिहान १० बजे राष्ट्र बैंकले सुन जोख्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन हिजो साँझ बरामद भएको थियो । आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिनुभयो । गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ छ । तीन दिन विमानस्थलको भन्सार गोदाममा राखेर हिजो साँझ सुन निकालिएको थियो । बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ । सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ ।