एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति ओलीको आपत्ति

80 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किनुभएको हो । ओलीले स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गर्नुभएको हो । उहाँले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताउनुभयो ।

ओलीले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिनुभयो । उहाँले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति आपत्ति जनाउनु भयो ।

ओलीले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाउनु भयो । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको बताउनुभयो । उहाँले अनियमितता गर्नेहरुलाई अब छुट नहुने बताउनुभयो । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइकन एमालेले नछोड्ने बताउनुभयो । उहाँले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर, प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले क्वीन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गर्नुभएको छ ।