देउवाको आह्वानमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठक बस्दै

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ ।

धुम्बाराहीस्थित पार्टी सभापति देउवा निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले २ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन पदाधिकारी बैठक बोलाउनुभएको देउवा निकट एक नेताले बताए ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि सभापति देउवाबाहेक सबै पदाधिकारीले जवाफ दिइसकेका छन् । भोली बुधबार ४ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले सम्बोधन गर्ने र बैठक समापन गर्ने तयारी छ । केन्द्रीय समिति बैठकमा महामन्त्रीको १० वटा एजेन्डा प्रस्तुत गरिएको थियो । भोली बस्ने बैठकले ती एजेन्डाहरूमाथि केन्द्रीय समितिमा भएको छलफल बमोजिम निर्णय लिने नेताहरूले बताएका छन् ।

सभापति देउवाले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गराउनुभएको थियो । बैठक सामाजिक सञ्जालमार्फत लाइभ भएकोमा देउवाको केही बाहेक अधिकांश केन्द्रीय सलस्यले प्रशंसा गरेका छन् ।