चीन सरकाले गर्यो विदेशमन्त्री छिन काङलाई बर्खास्त
71 पटक पढिएको
एजेन्सी । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ । एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।
चीन सरकार नियन्त्रित सञ्चार माध्यमका अनुसार छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि गरेको छ । गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन् । पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता सार्वजनिक भएका थिएनन् ।
त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेटेका थिए । यससँगै छिन काङको भाग्य र भविष्यबारे केही सातादेखि भइरहेका अड्कलबाजीले पनि अब पूर्णविराम पाएका छन् । उनको एक महिना लामो सार्वजनिक अनुपस्थिति घरेलु राजनीतिमा चर्चा भइरहेको थियो ।
राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ । अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको भूमिका निर्वाह गर्ने छन् । उनी चीनको विदेश नीति चलाउन राष्ट्रपति सीका विश्वासपात्रसमेत हुन्।