यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु

138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले सरकारले थालेको भ्रष्टाचार बिरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको बताउनुभयो । उहाँले कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको बताउनुभयो । उहाँले बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको पनि बताउनुभयो । बैठकले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिवासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताउनुभयो ।