मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

315 पटक पढिएको

११ श्रावण २०८०, बिहीबार १३:०१ सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पारित भएको छ। आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो।

सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो। राष्ट्रिय सभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ।