भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । गोकणश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताउनुभयो ।

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताउनुभयो । “भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।”

भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताउनुभयो ।

उहाँले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्नुलन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताउनुभयो ।