सुनसरीका मजदुर लालबहादुर विकले पाए उच्च अदालत विराटनगरबाट सफाइ

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – साहुले फसाएका सुनसरीका मजदुर लालबहादुर विकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ ।

सुन पसलमा गहना बनाउने काम गर्ने लालबहादुरलाई गएको पुसमा जिल्ला अदालत सुनसरीले डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिबाना र झन्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । छाक टार्नसमेत मुस्किल हुने लालबहादुरलाई अदालतले गरेको फैसलाको चौतर्फी आलोचना भएको थियो । अभियन्ता र केही वकिलको सहायतामा लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।

आज मङ्गलवार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएको हो ।

इटहरीमा दीपक गजमेरको सुन पसलमा काम गर्ने लालबहादुरविरुद्ध २०७५ सालमा करौडौँ रुपैयाँ ठगीको मुद्दा परेको थियो । सुनसँगै पैसा पनि बचत गर्ने बचतकर्ताको रकम हिनामिना गर्ने काम साहुले गरे पनि आरोप भने लालबहादुरमाथि लागेको थियो । जिल्ला अदालतले दुई सय ७५ जनाको १८ करोड ८४ लाख ६६ हजार आठ सय ८९ रुपैयाँ बिगो कायम गरेकोमा लालबहादुरविरुद्ध तीन करोड रुपैयाँको बिगो, ७० हजार रुपैयाँ जरिबाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।