फिफा महिला विश्वकप : नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६ मा
88 पटक पढिएको
काठमाडौं । नेदरल्यान्ड्स र साबिक विजेता अमेरिका समूह ‘इ’ बाट फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा मंगलबार भियतनामविरुद्ध ७–० को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
तीनै खेलमा पराजय ब्यहोरेको भियतनाम अंकविहिन हुँदै बाहिरियो । न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुर्ड र एस्मी बुरग्ट्सले समान दुई तथा डेनियल भ्यान डे डोन्क, काट्जा स्नोइज र लाइके मार्टेन्स समान एक गोल गरे ।
न्यूजिल्यान्डको इडेन पार्कमा मंगलबार भएको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिकाले उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको छ । यो नतिजासँगै अमेरिकाले ३ खेलमा पाँच अंक जोड्यो । समान खेलबाट चार अंकका साथ पोर्चुगल तेस्रो स्थानमा रहेर बाहिरियो । यसअघि भियतनामलाई हराएको अमेरिका नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको थियो ।
नेदरल्यान्ड्ससँग पराजित पोर्चुगलले भियतनामलाई हराएको थियो ।