काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि आज साँझ ५ बजे पुनः बैठक बस्न लागेको हो ।
मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत अर्थात शनिबारदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदैछ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिका फेरि नेतृत्वविहिन हुने अवस्थामा पुगेको हो । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म पनि न्यायपालिका कायम मुकायमको भरमा चलेको थियो ।