एमालेद्वारा राष्ट्रिय सभाको बैठक पनि अवरोध

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले आजको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो ।

यसैमा एमालेले छानबिन समिति बनाउन माग गरेको हो । एमालेले यही विषयलाई लिएर प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।

सुन प्रकरणबारे उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरु आ–आफ्नो सिटबाट उठेर उभिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्नुभएको थियो । तर एमालेका सांसदहरुले बस्न नमानेपछि अर्को बैठक साउन २२ गते १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।

सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।