विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

494 पटक पढिएको

१८ श्रावण २०८०, बिहीबार २०:०४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले उहाँको नाम सिफारिस गरेको हो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अनिवार्य अवकाशमा जाने भएकाले बैठकले आज नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो।

उहाँ हालसम्ममा न्यायाधीशहरुमा बरिष्ठतम हुनुहुन्थ्यो। बरिष्ठतमलाई नै कायम गर्दै बैठकले नाम सिफारिस गरेको हो। नेपालको संविधान २०७२ को धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि यसपटक भने नयाँ नियुक्ति सिफारिसमा ढिलाई भएको छ।

संवैधानिक व्यवस्था अनुसार असार १९ अघि नै सिफारिस हुनुपर्नेमा अवकास हुनु अघिल्लो दिन बल्ल सिफारिस गरिएको हो। बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन नसकेको हो। यसअघि गएको मंगलबार बसेको बैठक निष्कर्ष बिना सकिएको थियो।