सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक नभएको मन्त्री शर्माको भनाइ

146 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिइरहेको भन्दै सरकारी निकायबाट नै भइरहेको अनुसन्धानलाई उच्चस्तरी समिति बनाएर प्रभावित बनाउनु नहुने बताउनुभयो ।

मन्त्री शर्माले प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको र सरकारले गम्भीरताका साथ लिएको भन्दै अहिले पुनः अर्को समिति बनाएर अनुसन्धानलाई डाइभर्ट गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले ३३ किलो सुन प्रकरणमा पनि उच्चस्तरीय छानबिन समिति नबनेको र अरु बेलामा पनि नबनेको भन्दै अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुने बताउनुभयो ।