माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप

123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय बनेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु आजदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

यसैबीच नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी निरन्तर ओरालो लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पार्टी बिग्रनुमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको भन्दै रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

बैठकमा पार्टीप्रति गुनासो गर्नेहरुले सरकारका काम कारबाहीको भने प्रशंसा गरेका छन् । बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रशङ्ग पनि उठेको छ ।

केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै महरा आफैँले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताउनुभयो । उहाँले पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने बताउनुभयो ।