पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्ष जेल र एक लाख जरिवाना हुने

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् ।

खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमार्फत दिइएको छ ।

इस्लामावाद जिल्ला अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो ।

यो सजायसँगै इमरान खान पाँच वर्ष चुनाव लड्न अयोग्य हुने पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उहाँका वकिल इजलास समक्ष अनुपस्थित रहेका थिए ।

इमरान खानको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ । खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए ।