प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरको तेस्रो सातादेखि

80 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताउनुभएको छ। प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उहाँको भनाइ छ ।

उहाँले छिमेकी देशहरूका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरूसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताउनुभयो ।

आइतबार(आज) कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताउनुभयो।

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । उहाँले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताउनुभयो ।