सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई
266 पटक पढिएको
काठमाडौं। राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।आज पत्रकार सम्मेलन गरेर विभागले हालसम्म गरेको अनुसन्धानको विवरण प्रहरीलाई सुम्पिएको हो।
विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिनुभयो।
महानिर्देशक ढुंगानाले पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने बताउनुभयो। विगत ४६ वर्ष लामो इतिहासमा पहिलोपटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो ।
गत साउन २ मा विभागले सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो। हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन्। सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।







