सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

97 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

काठमाडौंस्थित प्रज्ञाभवनमा पाँचदिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको हो ।

बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अभियान भाद्र १६ गतेदेखि सुरु भइ तिन महिनासम्म चल्ने बताउनुभयो ।

उहाँले यस अभियानका क्रममा पार्टीको नेता तथा कार्यकताहरु जनताको घरदैलोमा जाने र पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मर्मलाई जनतासमक्ष सम्प्रेषण गर्ने बताउनुभयो । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने र सबै पदाधिकारीहरुले कम्तिमा एउटा वडा जिम्मा लिने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसैगरी बैठकले नेताहरुको कार्यविभाजन पनि गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले सरकारको काम हेर्ने निर्णय भएको छ । गृहमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारको कामको साथै प्रवास प्रदेशको पनि जिम्मेवारी दिइएको उपाध्यक्ष महराले जानकारी दिनुभयो । त्यसैगरी उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा र पार्टी एकता, अग्नि प्रसाद सापकोटालाई प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ । जनवर्गिय संगठनको इन्चार्ज पम्फा भुसाललाई दिइएको छ । जनवर्गिय संगठनमध्ये शिक्षक, कर्मचारी, प्राध्यापक र सांस्कृतिक क्षेत्रको इन्चार्ज भने दिनानाथ शर्मालाई दिइएको छ ।

बैठकले सबै प्रदेशहरुमा इन्चार्ज तोकेको छ । जसअनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल(बलदेव), मधेश प्रदेशमा लिलामणि पोखरेल, बागमतीमा जर्नादन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव, सुदुरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तैगरी प्रवासमा नारायणकाजी श्रेष्ठ र पार्थ क्षेत्री, विशेष प्रदेशमा वर्षमान पुन र सम्पर्क समन्वय प्रदेशमा पार्थ क्षेत्रीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष महराको भनाई छ ।

बैठकले २५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।