सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्छ : प्रचण्ड

68 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्ने बताउनुभएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्न अहिले पनि आफूले प्रयास गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा घटेको घटनाक्रमले एउटा नयाँ चेतना पैदा भएको उल्लेख गर्दै उहाँले त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । तत्काल यदि त्यसो हुन नसके आउँदाे २०८४ सालको चुनावमा पहिचानका पक्षधरहरूलाई मत दिएर जिताए संसदबाटै सबै प्रदेशको नामकरण पहिचानसहितको हुने उहाँले आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश नामकरण भइसकेपछि चलिरहेकाे आन्दोलनको सन्दर्भमा आदिवासी, जनजातिलगायत विभिन्न सङ्–संस्थाका प्रतिनिधिले बालुवाटारमा आएर मलाई भेट्नुभएको थियो । पहिचान र अधिकारको नेता हुनुको नाताले मैले आदिवासी, जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्व मलाई अवगत छ । अहिले पनि तपाईँहरूको जो चिन्ता छ, चासो छ । पहिचानको होस् भन्नेमा । सिद्धान्ततः हामी सबैसँगै छौँ । र यो छलफल चलिराखेको पनि छ । अब यही प्रयासबाट तपाईँहरूले भनेजस्तो गरी पहिचान आउने भए त त्यो त धेरै राम्रो भयो । मेरो प्रयास त्यतैपट्टि हुनेछ । भएन भने अघि शेर्पाजीले भनेको जस्तै २०८४ मा पहिचानका पक्षधरलाई तपाईँहरूले टन्नै मत हालिदिनु भयो भने सदनबाट नै त्यही पारित हुन्छ । मलाई विश्वास छ– काेशी प्रदेश नामकरणकाे घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ । र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरूको नामकरण गर्न सकिनेछ । त्यसको निम्ति पनि गम्भीररूपले विचार गर्न म तपाईँहरूसँग अपिल गर्न चाहन्छु ।’