धुंवाकोट रिमालडिहीकी सरस्वती दर्शनटारमा मृत भेटिइन

6153 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ दर्शनटारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मृत भेटिएकी महिला धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुंवाकोट रिमालडिहीकी ४२ वर्षीया सरस्वती रिमाल हुन ।

बुधबार दिउँसो पौने पाँच बजेतिर त्रिशूली नदी किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान उपचारका लागि भनेर घरबाट एक्लै त्रिशूली अस्पताल गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । मृतकका परिवारलाई जानकारी गराई शव त्रिशूली अस्पतालमा पोस्टमार्टमका लागि राखेको नुवाकोट प्रहरीले जनाएको छ । रिमालको मृत्यु वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भैरहेकोले अहिले नै केही भन्न नसकिने प्रहरीले जानकारी दिएको छ ।

मृत भेटिएकी सरस्वतीको श्रीमान ४ बर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा  रहेको आफन्तहरुले वताए । ।  सरस्वती १ छोरी र १ छोरा छन । छोरीले १२ कक्षाको परीक्षा दिएर रिजल्टको पखाईमा छिन भने छोरा ९ कक्षामा पढ्दैछन ।सरस्वती नेकपा एमाले नीलकण्ठ नगर कमिटी वडा नम्बर १४ का उपसचिव धर्मराज दुवाडीको दिदि हुन ।