गत आर्थिक वर्षमा विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड धेरै

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताउनुभएको हो । उहाँले आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको बताउनुभयो ।

निर्देशक घिसिङले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको उल्लेख गर्नुभयो। ।

निर्देशक घिसिङले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताउनुभयो । उहाँले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।