त्रिशूली नदीमा बाढी आउँदा २ वटा झोलुंङ्गेपुलमा क्षती

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आइतबार दिनभर परेको पानीले त्रिशूलीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिकालाई धादिङको पृथ्वीराजमार्गसँग जोड्ने २ वटा झोलुंङ्गेपुलमा क्षति पुर्‍याएको छ । बाढीले गण्डकी गाउँपालिका ६ हिक्लुङ गाउँलाई राजमार्गसँग जोड्ने हिक्लुङ पुल र धादिङ चरौदीबाट गण्डकी गाउँ पालिकाकै वडा नं। ७ लाई जोड्ने धवादीघाट पुललाई क्षति पुर्‍याएको हो । हिक्लुङका स्थानीय भीमलाल चेपाङले दिएको जानकारी अनुसार आइतबार राती त्रिशूली बाढीको उच्च बहावले झोलुंङ्गेपुललाई क्षतिग्रस्त बनाएको हो ।

‘गएराति त्रिशुलीमा यति ठूलो बाढी आयो कि, पुल नाघ्यो’, उनले भने, ‘पुलको प्यानल लगेको छ । पुल पनि कर्के पारेको छ ।’ पुल क्षतिग्रस्त भएपछि अब हिड्न नमिल्ने भएको उनले बताए । ‘हिक्लुङ, थुम्का, बालकी, कोराकका मान्छेहरु अब त्रिशूली कसरी तर्ने भन्ने चिन्ता भयो’, उनले भने, ‘अब कि फेरि तुइन हाल्नु पर्ने भयो, कि त्यही प्यानल नभएको पुलमा लठ्ठामा झुण्डिर हिड्नुपर्यो ।’

यहाँभन्दा माथि कौदीफाँटमा र तल हुग्दीमा पनि झोलुंगे पुल छ तर त्यहाँसम्म पुग्न यस क्षेत्रका बासिन्दालाई अनुकूल नहुने स्थानीयको भनाइ छ । धादिङको बेनिघाट रोराङस्थित पृथ्वीराजमार्ग जोड्ने गरी गोरखाको गण्डकी गाउँपालिका ६ हिक्लुङमा २०७५ सालमा यो पुल बनेको थियो । त्यसअघि यहाँ तुइन थियो ।

-इच्छाकामना न्यूजबाट