कांग्रेस सांसद शर्माद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। आज (सोमबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने बताएका हुन्।

सांसद शर्माले अहिलेको गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने भन्दै यदि गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने घोषणा गरे।

‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो।उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘सभामुखमार्फत म दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु।’

आफूलाई पक्राउ गरेका विषयमा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनको भनाइ थियो। शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा सिआइबीले उनलाई पक्राउ गरी अदालतको आदेशपछि रिहा गरेको थियो।