धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा विद्युत्को बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो ।

त्यसमध्ये धुनिबेसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महशुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

एक सय तीन जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

कालोसूचीमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियम समेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।

प्राधिकरण धादिङ शाखाका न्यौपानेका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ । उनीहरूबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ । तर पनि चोरी निर्मूल पार्न सकेको छैन । यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत् चोरी अन्तरगत कारबाही गरेको थियो ।

गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।