मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स सम्पन्न, सिक्किम र थाइल्याण्डका नेपालीले जिते उपाधी

457 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन तर्फको मेरो भोइस युनिभर्स र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ को फिनाले सम्पन्न भएको छ। शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा गायनमा सिक्किमका प्रितम राइ र नृत्यमा थाइल्याण्डकी खुसी कार्की विजेता बनेका छन् ।

बिजेताहरु राइ र कार्कीले नगद १/१ करोड पुरस्कार जितेका छन् । मेरो डान्स युनिभर्स प्रतियोगितामा बेल्जियमका देवी गर्बुजा  मगरको टिम फस्ट रनरअप भएको छ । सो टिमले नगद ३० लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चाको टिम सेकेन्ड रनर अप भएको छ । सो टिमले नगद २० लाख हात पारेको छ ।

गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् । फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । मगरले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको थियो ।

त्यसै गरी मेरो भोइस युनिभर्स प्रतियोगितामा शिशिर थटाल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् । प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् । उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् । उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन् ।

विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रमा सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए । संसारभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए।