प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुसँग संसद अवरोधबारे छलफल गर्दै

84 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

छलफल दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि नेकपा एमालेले १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ ।