प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरू
137 पटक पढिएको
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ ।
संसदीय सुनुवाइ समितिले सोमबार बिहान उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठसँग पनि छलफल सुरू गरेको हो । अहिले श्रेष्ठले समितिमा आफ्नो प्रस्तुति दिइरहनु भएको छ । त्यसपछि प्रश्नउत्तर हुनेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । संसदीय समितिबाट अनुमोदन भएमा श्रेष्ठले १४ महिना सर्वोच्चको नेतृत्व गर्नुहुनेछ ।