कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए

139 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाडौं हिडेपछि मुख्यमन्त्री थापाले आज लिने भनिएको विश्वासको मतबारे अन्योल भएको थियो । तर कोशीमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच आजै विश्वासको मत लिने निर्णय भएपछि थापाले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो । थापाको राख्नु भएको विश्वासको मतको पक्षमा ४७ मत र विपक्षमा ३०मत परेको थियो ।

उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले बैठक सञ्चालन गर्नु भएको थियो । प्रदेश सभामा नेकपा एमाले र राप्रपा एकातिर छन भने सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी जार्टी अर्कोतिर रहेका छन् । सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापा सरकारमा मन्त्री बन्नुभएको छ । त्यसपछि एमालेबाट निर्वाचित उपसभामुख दनुवारले सभामुखको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभामा जेष्ठ सदस्यले सभाध्यक्षता गर्ने प्रावधान रहेको छ । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । त्यसपछि सत्तापक्षकै मन्सुरीले बैठकको अध्यक्षता गर्नुभएको हो ।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहेका छन् । उता सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् । विश्वासको मतको पक्षमा बहुमतका लागि प्रदेश सभाका ४७ जना सांसदको आवश्यकता रहन्छ ।