बन्ने भो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति

255 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज/५ भदौ,२०८०

काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन संसद अवरोध गरेर आन्दोलन गर्दै आईरहेको नेकपा एमालेको माग पुरा गर्न सरकार तयार देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको सर्वदलिय बैठकमा सुन तस्करीबारे अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन ।

एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने विश्वास गरिएको छ । उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसमा सदस्य रहनेछन् । मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गरेपछि आयोग गठनको प्रकृया अघि बढ्नेछ ।
सुनकाण्डको बारेमा उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने भन्दै प्रमुख प्रतिपक्षी दलको मागलाई वेवास्ता गर्दै आईरहेको थियो ।

सीआईबीले गरिरहेको अनुसन्धानलाई कुनै अवरोध नगर्ने गरी छानबिन समिति बनाउन लागिएको हो । सीआईबीको छानबिनका क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानुनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेले अडान राख्दै आएको थियो ।