सरकार बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा छ : प्रधानमन्त्री

74 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताउनुभएको छ ।

आज भरतपुर २२०/१३२ केभी सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

उहाँले देशभित्र उत्पादित बिजुली यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र बाँकी भएको बिजुली निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।

‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौँ । नेपालको बिजुली बङ्गलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र बिजुली व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’