कांग्रेसका पूर्व केन्द्रीय सदस्य डाक्टर राजाराम कार्कीको निधन

258 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज / ६ भदौ २०८०

धादिङ- नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधन भएको छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, महासमिति सदस्य तथा  बागमती प्रदेशका पूर्व सांसद डाक्टर कार्कीको ६६ वर्षको उमेरमा २०८० भदौ ६ गते बुधबार उपचारका क्रममा वीर अस्पताल, काठमाडौंमा असामयिक निधन भएको हो । कार्की लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचाररत हुनुहुन्थ्यो ।

स्वर्गिय कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशन देखि हालसम्म लगातार महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५) नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको सचिव(२०५३), स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति(२०४१) लगायतको जिम्मेवारी वहन गर्नुभएको थियो । २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित हुनुभएको थियोे । वि. सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं। ३ मा उहाँ नेपाली कांग्रेसको उम्मेदवार समेत हुनुहुन्थ्यो ।उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी र बौद्धिक नेतालाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले शोक बक्तव्य प्रकाशित गरी  श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । स्वर्गिय कार्कीका पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी हुनुहुन्छ । डाक्टर कार्कीको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न व्यक्तित्व, राजनैतिक दल, संघ संस्था र सर्वसाधरणले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन ।

कार्कीको शवलाई श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ७:०० बजेदेखि ८:३० बजेसम्म काठमाडौं, स्वयम्भूस्थित उहाँको निवासमा र  ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने जनाइएको छ । श्रद्धाञ्जली पश्चात शवयात्रा सुरु गरी पशुपति, आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनु भएको छ ।