झार्लाङकी सानुमायाको १७ बर्ष पछि भेट भयो परिवारसंग दुई सय दुई महिना जेल बसेर घर आईपुगिन्

30885 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ९ भदौ –  धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि नेपाल आईपुगेकी छन् । शुक्रवार चिनियाँ जहाज बाट सानुमाया नेपाल आईपुगेकी हुन् । लागु औषध तस्करहरुको चंगुलमा फसेर २ सय २ महिना चिनियाँ जेलमा थुनिएकी थिइन् ।

कमाउन मलेशिया पुगेका श्रीमानको उतै मृत्यु भएपछि घरपरिवार धान्न, छोराछोरी पालनपोषण र पढाई खर्च पु¥याउन र बुढा भईसकेका सासु ससुरालाई सुख दिन भन्दै २०६३ कात्तिकमा सानुमाया वैदेशिक रोजगारमा जान नेपाल छाडेकी थिइन् ।

        लागु औषधको कारोवार गर्दै आईरहेका अपराधीहरुले सिधा स्वभावकी साुनमायालाई षडयन्त्रमा पारेर वैदेशिक रोजगारीका लागि विदेश होइन नेपाल छाडेको भोलीपल्टै चिनियाँ जेलमा पु¥याएका थिए । तस्करहरुले उनलाई लागु औषधको क्याप्सुल खुवाएर पठाएका कारण चिनको छेन्दु विमानस्थलमा उनी पक्राउ परेकी थिईन । २०६३ कात्तिक ९ गते बिहीवार छेन्दुु विमानस्थलमा पक्राउ परेकी सानुमायालाई त्यहाँको प्रहरीले लगाएको मुद्धाका आधारमा अदालतले आजिवन कारावास सजायँ सुनाएर जेलमा राखेको थियो । नेपाल छाडेपछि ६ हजार १ सय ४८ दिन अर्थात २०२ महिना जेलमा बसेकी सानुमायालाई २०८० भदौ ७ गते चिनको जेलबाट रिहा गरिएको थियो ।

         आजिवन कारावासको सजायँ पाएकी सानुमाया असल चाल चलनका कारण जेहवाट रिहा भएपछि छेन्दु स्थित नेपाली महावाणिज्य दुतावासको सहयोगमा भदौ ८ गते उनी नेपाल आईपुगेकी हुन । नेपाल फर्किएकी सानुमायाको एयरपोर्टमै परिवार संग पुर्नमिलन भएको थियो । विदेश जानु अघि उनले पाटनको अनाथाश्रममा छाडेकी छोरीलाई जर्मनको एक चिकित्सक परिवारले धर्मपुत्रीका रुपमा स्विकार गरेर लगेको छ । जर्मन पुगेकी छोरीले एक–दुईपटक सानुमायासँग टेलिफोनमा कुरा गरको भएपनि अहिले सम्पर्क हुन छाडेको सानुमायाले वताईन । छोरा बिक्रम बिहे गरेर काठमाण्डौंमै बस्दै आईरहेका छन् ।

आमाको अनुहार राम्रो संग नठम्याउने हुंदै विछोड भएका बिक्रमले शुक्रवार एयरपोर्टमा आमालाई भेट्दा निकै रोएका थिए । बिक्रम मात्रै होइन उनकी आमा र बिक्रमकी श्रीमती पनि रोएका थिए ।चार बर्षको उमेरमा आमा बाट छुटेका बिक्रमले पहिलो पटक आमा देख्दा चिन्न सकेनन । अहिले उनी २१ बर्षका भए ।

घर परिवार र आफन्तले झण्डै माया मारिसकेकी सानुमाया सकुशल नेपाल फर्किएकोमा अहिले उनका आफन्तहरु निकै खुसी हुन पुगेका छन् । सानुमायाले भोग्नु परेको समस्याको जड अन्त्य गर्न नसक्ने हो भने धेरै सिधासाधा नेपाली विदेशको जेलमा पुग्नेक्रम चलिनैरहनेछ । अपराधी समूहको गलत प्रयोगका कारण अहिले पनि धादिङको उत्तरी भेगका सयौं व्यक्ति चिन, मलेसिया, थाईल्याण्ड, सिंगापुर लगायतका देशमा जेल जिवन विताईरहेका छन् ।

विदेशी भुमिमा आजिवन कारावास भोगेकी सानुमाया १७ बर्षपछि नेपाल आईपुगेको खबरले उनका आफन्तहरु समेत खुसी भएका छन । परिवन्दमा परेर दुःख पाएको भएपनि अहिले आफ्नै देशमा फर्किएकी सानुमाया केही दिन छोरा बुहारी संग काठमाण्डौं बसेर पुख्र्यौली गाउँ झार्लाङ आउने खबरले उनका आफन्त छर छिमेकी र चिनेजानेका हरु उनलाई भेट्न आतुर देखिएका छन् ।


4 thoughts on “झार्लाङकी सानुमायाको १७ बर्ष पछि भेट भयो परिवारसंग

  1. यो त नमूना मात्र हो यस्ता त कति होला कति यस्ता कुरामा सरकारको ध्यान जाँदैन कहिले सम्म हो आँखामा पट्टी बाँधेर बस्छौ सरकार? नेपालमै रोजकारीको सिलसिला मिलाउ अनिमात्र यस्ता समस्याको सावधान हुनेछ हामी युवाहरु पनि बिदेसिनु पर्ने थिएन आफ्नो घर परिवार छोडेर हाम्रो पनि सानुमाया को जस्तै हालत त होनि के नै फरक होर सानुमाया १७ वर्ष हामी २ ४भन्दा भन्दै हाम्रो उतिनै हुनजान्छ त्यसैले सरकार कहिले जाग्छौं सधैं सुतेर मात्र कति बस्छौ? उठने बेला भयो उठ अब उठ

  2. सरकार को ध्यान ढुकुटी कसरी रित्यौं भन्ने मा छ अनि यस्तो मा ध्यान जान्छ त, महोदय।

  3. सानुमाया तामाङ नेपालमा आइपुग्‍नु भएकोमा उहाँ तथा सवै परिवारजनमा हार्दिक बधाइ। समाचार प्रकाशन गरी जानकारी गराउनु भएकोमा धादिङ न्युजलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। सानुमाया तामाङका बारेमा चीनमा नै बस्नु हुने सिआरआइमा नेपालीभाषाका लागि काम गर्नु हुने मित्र इलामका चेतनाथ आचार्यबाट जानकारीहरू पाएको थिए। उहाँलाई त्यसरी फसाउने अपराधिहरूको बारेमा चीनका प्रहरीले गरेका अनुसन्धानका फाइलका बारेमा पनि कुराकानी गर्नु भएको थियो। तर उहाँका अनुसार त्यस फाइलमा देखिएकाहरूको बारेमा नेपालमा सार्वजानिक गर्दा असुरक्षा हुने बताउनु भएको थियो।
    साथै उहाँले प्राप्‍त गर्नु भएको विवरणका आधारमा उहाँले सानुमाया तामाङको गाउँदेखी जेल जीवनसम्मको बेदना र घटनाहरूको जानकारी पछि एक नेपाली उपन्यास “रुइबा” समेत गत २०७८ असोज महिनामा फिनिक्स बुक्सको प्रकाशनमा सार्वजानिक गर्नु भएको थियो। आचार्यका अनुसार उहाँले दोभासेको रूपमा जेलमा पुग्दा भेट्दाको सानुमायाको नम्रता, चनिया भाषाको दख्खल चीनीया बोलाई आदि अरूलाई सँधै सहयोग गर्ने व्यवहार करूणामयी स्वभावहरूलाई उपन्यास व्यक्त समेत गर्नु भएको छ। सानुमाया तामाङलाई उपन्यासमा पढदा र घटना सुन्दा समेत मन, आँखाहरू रसाउने दर्दनाक नरकीय अकल्पनिय घटनाहरूलाई जितेर नेपालमा परिवारसँग भेट भएको यो समाचार पढन पाउँदा इमान्दारिता र नैतिकताको ढिलै भएपनि जित हुँदो रहेछ मलाई पनि असाध्यै खुसी लागि सानुमायाका सबै परिवारजनको दिर्घायु र सुखद् भविष्यको कामना गर्दै यो प्रतिक्रिया लेखेको छु । अजितमा चोथेन लोप्चान तामाङ, याम्बु।

Comments are closed.