डेढ महिना वित्यो अझै भेटिएनन् बेनिघाटका शिवकुमार

347 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी/धादिङ न्यूज

धादिङ, ११ भदौ । धादिङको बेनिघाट रोराङ गाउँपालिका– वडा नम्बर ५ वेनिघाट घर भएका ३५ बर्षिय शिवकुमार कार्की गएको असार ३१ गते राती देखि बेपत्ता छन् । वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय कार्की बेनिघाटको चरौंदी नजिकैबाट हराएका हुन् । हराएको डेढ महिना हुंदा पनि उनको अवस्था अज्ञात छ ।

असार ३१ गते साँझ घर बाट निस्किएका उनी अझै सम्म घर फर्किएका छैनन् । कार्कीको खोजी गरिदिन आग्रह गर्दै परिवारले साउन ४ मा प्रहरीमा निवेदन दिएका थिए । साउन ४ मा कार्की हराएको जानकारी आएपछि खोजीकार्य थालेको प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेकोमा दुई जनालाई बोलाएको बेलामा उपस्थित हुने गरी छाडिदिएको छ भने दुई जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार ‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ, अहिले सम्म शिवकुमारको अवस्था अज्ञात छ, खोजतलास जारी छ ।’

प्रहरी प्रशासनले उनको खोजतलास र घटनाको अनुसन्धान भईरहेको दावी गरेपनि उनी कहाँ छन्, उनको अबस्था के छ भनेर अहिलेसम्म न प्रहरी प्रशासनले भेउ पाएको छ नत परिवारका सदस्यले । चार महिना अघि मात्रै कुवेतबाट बिदामा घर आएका कार्की साउन २२ गते रोजगारीका लागि फेरी विदेश जाने तयारीमा थिए ।
असार ३१ गते बेलुकी बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेमोड स्थित एक हुक्का बारमा मदिरा सेवन गरी त्यहाँबाट निस्केका कार्की त्यसपछि वेपत्ता छन् । डेढ महिना सम्म पनि नभेटिदा उनको हत्या गरिएको होकी भन्ने आशंका परिवारले गरेको छ । शिवकुमारको श्रीमती नानीमाया कार्कीले आफ्नो श्रीमानलाई वेपत्ता पारेको आरोपमा होटल संचालक कुमारी तिवारी र शिव संगै होटलमा रक्सि खान गएका इन्द्र कँडेल र अन्य पाँच जना समेत गरी ७ जनाका बिरुद्ध भदौ ७ गते बिहीवार जिल्ला प्रहरी कार्यालय धादिङमा किटानी जाहेरी दर्ता गराएको जानकारी दिइन ।

शिवले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटक–पटक कल गरेको र अन्तिमपटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीया तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएका साथी इन्द्र कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी तिवारी नाताले शिवकुमारकी माइजु पर्छिन । कार्कीका दुई जना छोराहरु छन् ।

शिव हराएको सम्बन्धमा खोजबिनको माग गर्दै स्थानीयले स्थानीय प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालयमा धर्ना दिनुका साथै हप्तौं सम्म विरोध प्रदर्शन समेत गरेका थिए । अहिले आन्दोलन पनि मत्थर हुंदै गएको छ । शिवको खोजीका लागि नागरिक स्तरमा संघर्ष समितिनै बनेको छ । वेनिघाट रोराङ गाउँपालिकाका पूर्व उपाध्यक्ष देवीप्रसाद सिलवालको संयोजकत्वमा बनेको सघर्ष समितिमा स्थानीय समुदायको सहभागिता रहेको छ ।

शिवको हत्या भइसकेको अनुमान स्थानीयको छ । शिवका दाजु सोनिज कार्कीका अनुसार शंका गरेको ठाउँमा भाईको एउटा चप्पल भेटिएको थियो । चप्पल बाहेक अरु केही नभेटिएकाले मारेकै हो भन्न सकिने अबस्था पनि छैन, हराएको व्यक्ति बेपत्ता भएको यत्रो दिन भइसक्दा कतै केही भेटिएको पनि छैन ।

धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रका अनुसार अहिले पनि खोजी कार्य जारी छ । ‘उहाँको खोजीका लागि अन्य जिल्लाहरुमा जानकारी दिनुका साथै आशंका गरिएको सबै ठाउँमा पनि खोजतलास गरिसकिएको छ । घटनामा सम्बन्धित भनिएका व्यक्तिहरुसंग फरक फरक कोणबाट अनुसन्धान भईरहेको छ ।’ शुरुमा इलाका प्रहरी कार्यालय गजुरीले वेनिघाट स्थित इलाका प्रहरी कार्यालय संग समन्वय गरी अनुसन्धान गरेकोे थियो तर अहिले जिल्ला प्रहरी कार्यलयले बिशेष टोली गठन गरेर खोजी, अनुसन्धान गरिरहेको एसपि मिश्रको भनाई छ ।
शिवकुमार हराईरहेको बिषय संघीय संसदमा पनि प्रवेश गरिसकेको छ । नेकपा एमालेको केन्द्रिय सदस्य समेत रहेकी रोल्पा जिल्लाको प्रतिनिधि सभा सदस्य ईस्वरी घर्तीले भदौ ८ गते प्रतिनिधि सभामा बोल्दै शिवकुमारको बिषय सदनमा प्रवेश गराएकी थिइन । सांसद घर्तीले शिवकुमारको अवस्था तत्काल सार्वजनिक गर्न सरकारलाई दवाव दिएकी थिइन ।

यसै बिच शिव कुमार कार्की बेपत्ता घटनाको विषयमा पीडित परिवार र स्थानीयवासीलाई भेटेर खोजीका लागि सहयोग गर्ने बचन वागमी प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले पनि दिएका थिए । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवम प्रतिनिधि सभा सदस्य जिल्लावासी डिपि अर्यालले पनि परिवारका सदस्यलाई भेटेर शिवकुमारको न्यायका लागि आंफु लाग्ने बचन दिएका थिए ।

वेनिघाट रोराङमा कृयाशिल ६ वटा राजनैतिक दलले कार्कीको खोजी गरी दोषि माथि कारवाहीका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाउँदै संयुक्त बिज्ञप्ति जारी गरेका थिए । राष्ट्रिय युवा संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै खोजविन तत्काल गर्न दवाव दिएको थियो ।