पञ्चमुखी माविका अभिभावकले सिद्धलेक ३ नम्बर वडामा लगाए ताला

381 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ भदौ । बिषय शिक्षकको दरवन्दी सहित सरुवा गरिएपछि बिद्यालयमा पठन पाठन रोकिएको

भन्दै बिषय शिक्षकको व्यवस्थाको माग राख्दै धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर३ मैदानमारहेको पञ्चमुखी माध्यमिक विद्यालयका अभिभावकले वडा कार्यालयमा तालावन्दी गरेका छन् ।

बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत रमेश नेपाललाई सिद्धलेक गाउँपालिकाले साउन २६ गते दरवन्दी सहित सिद्धेश्वर माविमा सरुवा गरिदिएको थियो । शिक्षक नेपालको सरुवा भएपछि एक महिना देखि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प भएको भन्दै स्थानीय अभिभावकले मंगलबार सिद्धलेक ३ नम्बर वडा कार्यालयमा तालावन्दी गरेका हुन ।

वैकल्पिक व्यवस्थाका लागि पालिकामा गरिएको अनुरोधको कुनै सुनुवाई नभएको कारण मावि तहको गणित बिषयको पठनपाठन ठप्प भई बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएकोले दरबन्दि यथावत कायम गर्ने व्यवस्था मिलाउन दवाव दिन वडा कार्यालयमा तालावन्दी गरिएको अभिभावक होमनारायण श्रेष्ठले वताए ।

दरवन्दी सहित शिक्षक सरुवा भएपछि गणित विषयको पठनपाठन रोकिन पुगेको र पढाई सुचारु गर्ने व्यवस्था मिलाउन आंफुहरु सँघर्षको कार्यक्रम अघि सानै वाध्य हुनु परेको अभिभावकहरुको भनाई छ । वडा कार्यालय तालाबन्दि गरेपछि सम्पूर्ण सेवा ठप्प हुन पुगेको छ । सिद्धलेक गाउँपालिकाले पालिकाको शिक्षा समितिको सिफारिसका आधार देखाएर साउन २६ गते राहत दरवन्दी सहित १३ जना  शिक्षकको सरुवा गरेको थियो । यसरी सरुवा हुने शिक्षकमा अकलादेवी माविको निमाशि राहत संगिता उपाध्यायलाई नलाङ पात्ले माविमा, पञ्चमुखी माविका निमाशि राहत रमेश नेपाललाई सिद्धेश्वर माविमा, अमरआदर्श माविको प्रावि राहत कोपिला थापालाई महाकाली आविमा,बलदेवी आविका प्रावि स्थायी शिक्षक रामहरी खनाललाई दरवन्दी सहित अमर आदर्श माविमा, नागश्वेरी आविका प्राशि नेत्रवहादुर थापालाई जलेश्वरी माविमा, जलेश्वरी माविका प्राशि स्थायी आरतीदेवी रेग्मीलाई गोल्मारानी आविमा सरुवा गरिएको थियो ।


यसै गरी गोल्मारानी आविका प्राशि स्थायी निर्मला आचार्य श्रेष्ठलाई नागेश्वरी आविमा, चार महिना अघि मात्रै प्राशिमा स्थायी नियुक्ति पाएका प्रकाश मल्ललाई समिटार आविबाट नलाङ पात्ले माविमा सरुवा गरिएको छ । सुन्दरी माविका प्राशि स्थायी शिक्षक रामप्रसाद अर्याललाई समिटार आविमा, अन्नपूर्ण आविका विरवहादुर श्रेष्ठलाई जलेश्वरी आविमा,अमर आदर्श माविका प्राशि राहत शिक्षक हरि कुँबरलाई अकलादेवी माविमा, मनकामना आविका प्राशि राहत पवित्रा दर्लामी मगरलाई बलदेवी आविमा र वलदेवी आविका प्राशि राहत पवित्रा सिलवाललाई मनकामना आविमा सरुवा गरिएको थियो ।


शिक्षक सरुवा प्रचलित शिक्षा ऐन, नियमावली र विधि विपरित भएको भन्दै सरुवालाई बैज्ञानिक र विवादरहित वनाउन, पूर्वाग्रह तथा राजनैतिक प्रतिशोधका आधारमा कसैलाई सरुवा नगर्न माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेक गाउँ समितिले गाउँपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।