पेप्सिकोलामा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गयो

56 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं, १७ भदौ ।काठमाडौंको पेप्सीकोला–काँडाघारी सडक खण्डमा एकसाथ चार सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार आज बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको  बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी  एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

यसै गरी सोही ठाउँमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक र स्कुटरको पछाडि सवार एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।