ओली र अमेरिकी सिनेटरबीच शिष्टाचार भेट

78 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आज सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो ।

नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताउनुभयो ।

उहाँले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राख्नुभएको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताउनुभएको जानकारी दिनुभयो ।

उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताउनुभएको जानकारी गराउनुभयो । उहाँले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न शुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताउनुभएको जानकारी दिनुभयो ।

होलेन गत शुक्रबार नेपाल आउनुभएको थियो । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुनुहुन्छ ।