शिक्षक खोज्दै गाउँपालिका आईपुगे पञ्चमुखीका बिद्यार्थी (भिडियो सहित)

334 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ,१९ भदौ । धादिङको सिद्धलेक गाउँपालिका वडा ३ मैदानमा रहेको पञ्चमुखी माध्यमिक विद्यालयका बिद्यार्थीहरु गणित शिक्षकको खोज्दै नाराजुलस सहित गाउँपालिका कार्यालय घेर्न आईपुगेका छन् ।

हातमा प्लेकार्ड बोकेर नाराजुलस सहित बिद्यालय पोशाकमा आएका बिद्यार्थीहरुले मंगलवार गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा धर्ना दिंदै नाराजुलुस गरेका छन् ।

बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत रमेश नेपाललाई सिद्धलेक गाउँपालिकाले साउन २६ गते दरवन्दी सहित सिद्धेश्वर माविमा सरुवा गरिदिएपछि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प हुन पुगेको बिद्यार्थीहरु बताउँछन । विद्यालयमा तत्काल गणित शिक्षकको माग गर्दै विद्यार्थीहरूले भदौ १२ गते ३ नम्बर वडा कार्यालयमा र १४ गते बिद्यालयमा ताला लगाएर दवाव दिएपनि आंफुहरुको मागको सुनुवाई नभएको बिद्यार्थीहरु बताउँछन् ।

विद्यालयले बिषय शिक्षक व्यवस्थापनका लागि पटक–पटक माग गरे पनि गाउँपालिकाले बेवास्ता गरेपछि बिद्यार्थीहरु आन्दोलित हुनु परेको अभिभावकहरुले वताएका छन् ।

बिद्यालयमा गणित विषयको कक्षा नै ठप्प हुने गरी सिद्धलेक गाउँपालिकाले राहत दरबन्दीका गणित शिक्षकको सरूवा गरेपछि विद्यालयमा पठन पाठन ठप्प हुन पुगेको छ । बिषय शिक्षकको व्यवस्था गरिदिन बिद्यालयले गाउँपालिकालाई गरेको अनुरोधको सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।

विद्यालयले शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूको नैसर्गिक अधिकारबाट वञ्चित हुन नदिन माग गरेको छ । विद्यालयले भनेको छ,‘समस्या समाधानका लागि बारम्बार सिद्धलेक गाउँपालिका समक्ष माग गरिए पनि हालसम्म समस्या समाधान गर्ने तर्फ कुनै पहल नभएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद इटनीले वताउनु भयो ।