वडा बाट न्याय खोज्दा धुनिबेसी ९ की मैया पाण्डे प्रहरी हिरासतमा

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २९ भदौ  ।  धुनिबेसी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्षले शक्तिको दुरुपयोग गर्दै आफ्नै नागरिकलाई प्रहरी लगाएर पक्राउ गरेको आरोप लागेको छ ।

धादिङको धुनिबेशी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष माधव सिलवाल  लाई   हातपात गरेको आरोपमा  सोही वडाको वासिन्दा मैयाँ पाण्डेलाई  प्रहरीले  पक्राउ गरेको छ ।वडाअध्यक्ष संग सवाल जवाफ गरी हात हालाहाल गरेको भन्दै पाण्डेलाई पक्राउ गरिएको हो ।

सिक्रेखोला रानागाउँ, काफलचौर जाने गोरेटो बाटो पाण्डेको जग्गामा पहिलेनै रहेकोमा  सडक निर्माणका लागि वडाले पाण्डेको थप जग्गा प्रयोेग गरेपछि पाण्डे परिवारले सडकमा धेरै जग्गा परेकाले पुरानो गोरेटो बाटोको लागि थप जग्गा दिन नसक्ने बताउँदै आईरहेका छन । यहि बिषयमा वडा र पाण्डे परिवार बिच विवाद बढ्दै गएको हो ।   सडकका लागि जग्गा दिएपछि  पुरानो बाटोका लागि आफ्नो जग्गा दिन नसक्ने जिकिर पाण्डे परिवारको छ । पाण्डे परिवारको जिकिरमा वडाअध्यक्षले असहमती राख्दै आएका थिए । सडक र गोरेटो वाटो दुवै आफ्नो जग्गाबाट दिन नसक्ने पाण्डे परिवारको भनाई रहेको छ ।

सडकले धेरैजग्गा खाएको अवस्थामा गोरेटो बाटोसमेत दिनका लागि वडा अध्यक्ष सिलवालले एकलौटी निर्णय गरेपछि विवाद भएको पाण्डे परिवारले वताएको छ । विवादका बिच सामान्य धकलाधकल भएपनि विवाद गरेकै कारण महिलालाई वडा अध्यक्ष सिलवालको उजुरीको आधारमा पक्राउ गरीएको हो । लामो समय बाटोको विवाद हुदा धुनिबेशी नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत परेको थियो । उजुरीको फैसला पुर्णपाठ नै नदिई वडा अध्यक्ष सिलवाल बाटो खुलाउन आएपछि श्रीमती मैयाँ देवी पाण्डे आक्रोशमा आएको राम पाण्डेले बताए ।

पटक पटक उजुरीको फैसला सहित पूर्ण पाठ माग गर्दा पनि धुनिबेशी नगरपालिका नगर उप प्रमुख सुरज उप्रेतीले आलटाल गरेको उता वडा अध्यक्षले जबरजस्ती बाटो खुलाउन आएको पाण्डेले बताएका छन् । मैयाँ पाण्डे राम -पाण्डेको श्रीमती हुन् । वडा अध्यक्ष सिलवालले न्यायिक समितिको फैसलाको कार्यान्वयन गर्न जाँदा आफूमाथि महिलाले हातपात गरेको आरोप लगाएका छन् । जनप्रतिनिधि जतिको जिम्मेवार व्यक्तिले नागरिकका समस्या सुनुवाई गरी समाधानको उपाय खोज्नु पर्नेमा शक्तिको आडमा प्रहरी लगाएर थुनाएको पाण्डे परिवारको  आरोप छ ।

करिब २०,२५ वर्ष अघि देखि हिँड्दै आएको बाटो कायम हुनु पर्ने वडा अध्यक्षको भनाई थियो भने जग्गा धनी राम पाण्डेले भने मोटर बाटो दिएको हुँदा गोरेटो बाटो र मोटर बाटो दुई तिर दिन नसक्ने बताउँदै आएका छन्। यसै बिचको विवादमा आफूमाथि दुर्व्यवहार भएको भन्दै वडा अध्यक्ष सिलवालले इलाका प्रहरी कार्यालय खानिखोलामा  पाण्डे विरुद्ध मुद्दा दर्ता गरेका गरेका छन् । पाण्डे लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

यसै बिच धुनिबेसी नगरपालिकाका प्रवक्ता रमेश प्रसाद आचार्यले एक बिज्ञप्ति जारी गर्दै वडाअध्यक्ष सिलवालको बचाउ गरेका छन् ।
सिक्रेखोला राना गाउँ काफलचौर जाने गोरेटो बाटो कायम हुने भनि धुनिबेसी नगरपालिका न्यायिक समितिको मिति २०८० भदौ गतेको निर्णय भएको आचार्यले बिज्ञप्तिमा जनाएका छन ।
वडा नम्बर ९ का वडाअध्यक्ष सिलवाल र सथानीय बिच भदौ २७ गते सिक्रेखोलामा भनाभन र हातहालाहाल भएको नगरपालिकाका प्रवक्ता आचार्यले बिज्ञप्तिमा उल्लेख गरेका छन । दुई पक्ष बिच भएको भनाभन र हात हालाहालको बिषयलाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालले तोडमोड गरेकोमा नगरपालिकाको ध्यानाकर्षण भएको र घटनामासंलग्न माथि कान्रनी प्रकृया अघि बढि सकेको बिज्ञप्तिमा उल्लेख छ ।