सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

191 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएकाे बताउनु भयाे।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम शुरु गरेका छन् ।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाण्डाै उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न याे सेवाको अवधारणा ल्याइएको हो ।

बिहान र बेलुका कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ । रासस