चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डद्वारा प्रतिनिधिसभामा जानकारी

85 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले चीनको हाङ्गजाउमै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको, सोही दिन १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने जानकारी गराउनुभएको छ ।

न्यूर्योकबाट सीधै चीन भ्रमणमा जानुपर्ने अवस्था रहेको बताउँदै उहाँले प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेश्रो चीन भ्रमण हुने जानकारी गराउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘यस भ्रमणलाई मैले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई मजबुद तुल्याउन सदुपयोग गर्ने कुरा अवगत गराउन चाहन्छु ।’

२५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताउनुभयो । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ ब्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।