अझै २० वर्ष सक्रिय रहने ओलीको भनाइ

166 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा (एमाले)का  केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताउनुभएको छ ।

अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पार्नुभयो । शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताउनुभयो । बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाई थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताउनुभयो ।

अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि बताउनु भएको थियो । उहाँले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुशी भएको प्रतिक्रिया समेत दिनुभयो ।